काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिन बिदामा बस्दै छन् । चैत २३ गतेदेखि कार्यकाल सकिन लागेका अधिकारी आजदेखि चैत १५ गतेसम्म बिदामा बस्न लागेका हुन् ।
त्यसपछि भने उनी नियमित काममा फर्किनेछन् । राष्ट्र बैंकको नियमानुसार पाइने सञ्चित बिदा सक्न अधिकारी बिदामा बस्न लागेको राष्ट्र बैंक स्रोतले जनाएको छ । बिदा अवधिभर कायम मुकायम गभर्नरको जिम्मा वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले सम्हाल्नेछिन् ।
सामान्यतया गभर्नर देशभित्र हुँदा कायम मुकायम दिने चलन नभए पनि यसपटक अधिकारीले ढुंगानालाई कामु दिएर बिदामा बसेको जनाइएको छ । चैत २३ गतेसम्म समय भए पनि सो दिन शनिबार परेका कारण उनी चैत २२ गते नै अन्तिम दिन रहनेछ । सो दिनसम्म उनी राष्ट्र बैंकमा हाजिर हुनेछन् ।
अहिले सरकारले नयाँ गभर्नर छनोटका लागि तीन सदस्यीय समिति छनोट गरेको छ, यद्यपि यसको औपचारिक निर्णय भने सार्वजनिक भएको छैन । उक्त अर्थमन्त्रीको नेतृत्वमा पूर्व गभर्नर मध्येबाट विजयनाथ भट्टराई र विज्ञ सदस्यबाट डा विश्व पौडेल समितिमा छनोट भएको बताइएको छ । उक्त समितिले नयाँ गभर्नरको छनोट गर्नेछ ।