Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा,१५ वटा घाटामा, २ बन्द


४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा,१५ वटा घाटामा, २ बन्द

काठमाडौं । नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन् । सार्वजनिक संस्थानमा नेपाल सरकारको कूल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०\८१ मा संस्थानको कूल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९\८० को तुलनामा ०.२२ प्रतिशतले कम हो । कूल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका   छन् । आर्थिक वर्ष २०८०\८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो ।

नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।

सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९\८० मा १३ अर्ब ७५ करोड रुपैयाँ लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०\८१ मा ८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ । कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०\८१ मा २.४ प्रतिशत रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आव २०८०\८१ मा जम्मा ७ वटा सार्वजनिक संस्थानबाट मात्र लाभांश प्राप्त भएको छ ।

आर्थिक वर्ष २०८०\८१ मा पनि आर्थिक वर्ष २०७९\८० मा जस्तै जनोपयोगी, सेवा र वित्तीय क्षेत्रबाट लाभांश प्राप्त भएको छ भने औद्योगिक, सामाजिक र व्यापारिक क्षेत्रबाट लाभांश प्राप्त भएको छैन । कुल प्राप्त लाभांश मध्ये जनोपयोगी क्षेत्रको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट मात्र ७४.५६ प्रतिशत प्राप्त भएको छ । वित्तीय क्षेत्रका सार्वजनिक संस्थानबाट १ अर्ब ९० करोड ५७ लाख लाभांश प्राप्त हुँदा सेवा क्षेत्रबाट ३४ करोड २२ लाख रुपैयाँ मात्र लाभांश प्राप्त भएको छ ।