काठमाडौं । लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार शुक्रबार सम्पन्न बोर्डको ६५ औँ बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी, वित्तीय ढाँचालगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेस गर्ने कार्यका लागि प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालनसम्बन्धी परियोजना र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गर्न तथा सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने अख्तियारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई दिने निर्णय गरेको छ ।