काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा कडा बनाएको छ । बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनका अनुसार ट्राफिक र स्थानीय प्रहरीले उपत्यकाको १ सय २१ ठाउँमा चेकजाँच गर्छन् ।
सवारीसाधन चलाउनेहरुले मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिने खनालले जानकारी दिए । ३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । पिकेट ड्युटीमा खटिने प्रहरीले आफ्नो क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिबारे निगरानी र गस्ती गर्छन् । काठमाडौँको ३ सयभन्दा बढी स्थानमा प्रहरीको उपस्थिति रहने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
मापसे र लागु पदार्थ सेवन सम्बन्धी चेकजाँचमा कडाइ गरिने उल्लेख गर्दै अधिकारीले उत्साहको पर्वमा नकारात्मकता नल्याउन आग्रह गरेका छन् । होली खेल्न नचाहनेहरूलाई जबर्जस्ती रङ दल्ने र लोला हान्नेलाई पक्राउ गरेर कानुनी कारबाही गरिने छ ।
होली खेल्न नचाहनेलाई रङ दल्ने र मानसम्मानमा आँच पुर्याउनेलाई कानुनी दायरामा ल्याइने प्रहरीको सुरक्षा योजनामा उल्लेख छ । लागु पदार्थको परीक्षण गर्न उपत्यका प्रहरी कार्यालयले ट्राफिक प्रहरीलाई आवश्यक सामग्री र प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको छ ।