काठमाडौं । युद्धविराम घोषणा भएपछि गाजामा इजरायलले गरेको हमलामा परी १२२ जना मारिएका छन् । १५ जनवरी २०२५ मा दुई इजरायल र प्यालेस्टाइनबीच युद्धविराम घोषणा भएको थियो । हमासका प्रवक्ता महमूद बसलका अनुसार मारिनेहरूमा ३३ बालबालिका पनि रहेका छन् । यसबाहेक, बीबीसीका अनुसार यस अवधिमा २७० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाले शनिबार बिहान सार्वजनिक गरेको रिपोर्टअनुसार, दक्षिणी गाजाको अल-करारामा शुक्रबार राति अबेर भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। यसैबीच, एएफपीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ । आइतबारदेखि सुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ ।
योसँगै सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायली जेलबाट सयौं प्यालेस्टिनी कैदीको बदलामा उक्त क्षेत्रमा रहेका बन्धकहरूलाई रिहा गर्ने बाटो खुल्नेछ । निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको टोलीसँग मिलेर सम्झौता गर्ने श्रेय लिएका डोनाल्ड ट्रम्पको सपथ ग्रहणको पूर्वसन्ध्यामा यो युद्धविराम लागू हुन लागेको हो ।
त्यस्तै, इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ । इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागु हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।
मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार आइतबार अपराह्न ४ बजे स्थानीय समयअनुसार १४ः ०० बजे रिहा गर्ने जनाएको छ । यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो।