Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विपिन जोशीको रिहाइका लागि कतारसँग परराष्ट्रमन्त्री आरजु राणा देउवाको अपिल


विपिन जोशीको रिहाइका लागि कतारसँग परराष्ट्रमन्त्री आरजु राणा देउवाको अपिल

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतारसँग अपिल गरेकी छिन् । परराष्ट्रमन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी हुन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत हुन् ।

खुलाइफीसँगको कुराकानीमा राणाले हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छिन् । खुलाइफीले हमासहरुलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रूपमा अघि बढिरहेको जानकारी गराउँदै हमासहरूको अपहरणमा रहेकाहरूको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताएका थिए ।

नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरणमुक्त हुनेमा आफू विश्वस्त रहेको कतारी विदेशराज्यमन्त्री खुलाइफीले बताए ।

यसअघि परराष्ट्रमन्त्री राणाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ । गत हप्ता उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गरेकी थिइन् ।

यसअघि उनले गत हप्ता नै नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि सो आग्रह गरेकी थिइन् । राजदूत बासले मन्त्री राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार इजरायल सरकारले प्राप्त गरेको जानकारी गराएका थिए ।