Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट संशोधन गर्दैमा सरकार असफल हुँदैनःसञ्चारमन्त्री शर्मा


बजेट संशोधन गर्दैमा सरकार असफल हुँदैनःसञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन गर्दैमा सरकार नै असफल हुन्छ भने विषयमा विमती जनाएकी छिन् । उनले अहिले बजेटमाथिको छलफल चलिरहेको भन्दै आवश्यकता परेको अवस्थामा सरकारले बजेट संशोधन गर्न पनि सक्ने बताइन् । मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले बजेट संशोधन गर्नुपर्ने अवस्था भए सरकार असफल हुने र सरकार ढल्छ भन्ने बुझाई गलत भएको दाबी गरिन् ।

सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्नै मिल्दैन भन्ने बुझाई गलत हो । बजेट संशोधन गर्नुपर्ने अवस्था हुँदैमा सरकार असफल हुने भन्ने हुँदैन । पहिलेका सरकारले ल्याएका बजेटमा पनि सबैको चित्त बुझेको भन्ने छैन, मन्त्री शर्माले अगाडि भनिन्, हामीलाई थाहै छ, पहिले एउटै पार्टी नेकपा हुँदासमेत बजेटका विषयमा संसद्मा असन्तुष्टिहरू आएकै हुन् । असन्तुष्टि आउने कुरा स्वाभाविक पनि हो । सरकारसँग असीमित स्रोत छैन, सीमितता छ ।

अहिले असन्तुलित भयो भन्ने कतिपय कुराहरू उठेका छन्, ती प्रश्नहरू पनि जायज छन् । उनले बजेट संशोधन गर्नुपर्ने अवस्थाका लागि समेत सरकार तयार रहेको बताइन् । बजेट संशोधन गर्न मिल्दैन भन्ने बुझाई परम्परागत हो, त्यस्तो कानुनमा लेखिएको कुरा होइन, विगतमा पनि बजेटमा संशोधन भएको थियो, बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला, उनले भनिन अहिले पनि कमा, फुलस्टपसमेत संशोधन हुँदैन भनेर जसरी प्रचार भइरहेको छ, यो गलत छ ।

खाली हामी परम्परामै चल्ने कि नयाँ कोर्स तय गर्ने भन्ने कुरामात्रै हो । बजेट संशोधन गर्नुपर्ने अवस्था भएर सरकार नै ढल्ने भन्ने हुँदैन । बरू आवश्यकता पर्‍यो भने बजेटमा संशोधन गरेर पनि जान्छौं ।