Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बागमती प्रदेश सरकारद्धारा राजस्व सङ्कलनको क्षेत्र निर्धारणका लागि कार्यदल निर्माण


बागमती प्रदेश सरकारद्धारा राजस्व सङ्कलनको क्षेत्र निर्धारणका लागि कार्यदल निर्माण

काठमाडौं । बागमती प्रदेश सरकारले आन्तरिक आय बढाउने र राजस्व सङ्कलनको क्षेत्र निर्धारणका लागि कार्यदल निर्माण गरी अध्ययन थाल्ने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले राजस्व चुहावट, सङ्कलन व्यवस्थापन तथा दर र दायरालाई व्यावहारिक तथा वैज्ञानिक बनाउने गरी कार्यदल बनाएर काम गर्ने भएको हो ।

प्रदेशको आर्थिक विकास र समृद्धिका लागि आगामी आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्ने गरी कार्यदल बनाएर अध्ययन थाल्ने मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनालीले जानकारी दिए । प्रदेश सरकारलाई स्रोतहरूको अनुकूल प्रयोग, कर नीति सुधार र आर्थिक प्रणालीलाई मजबुत बनाउन मद्दत पुग्ने गरी कार्यदलले अध्ययन प्रतिवेदन तयार गर्ने उनले बताए ।

सो कार्यदलले अध्ययनमा सम्भावित कर संरचना सुधार, व्यापारिक गतिविधिहरूको प्रोत्साहन र आर्थिक स्रोतहरूको उत्तम व्यवस्थापनका उपाय समेटिने उनको भनाइ छ । प्रदेशको आन्तरिक राजस्व बढाउन, असंगठित क्षेत्रलाई औपचारिक बनाउने र दीर्घकालीन आर्थिक स्थिरता कायम राख्नका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने सचिव मैनालीले बताए ।

प्रदेशका आर्थिक र राजस्वका स्रोतहरूको गहिरो मूल्यांकन, राज्यका उत्पादन र सेवाहरूको वृद्धिमा जोड दिने उपाय अन्वेषण गर्ने गरी कार्यदलले काम थाल्ने उनको भनाइ छ । कार्यदलले प्रदेशको राजस्व सुधारको योजनासहित खर्च व्यवस्थापनको विषयमा समेत अध्ययन गर्ने उनले बताए ।