विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च जुटाउन प्रदेश सरकारले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक र विशेष अनुदानबाट क्रमशः ३९ करोड र ५५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । अपुग हुने ३ अर्ब १३ करोड रुपैयाँ नगद मौज्दातबाट व्यहोरिने उल्लेख छ ।
बजेटले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोचलाई आधार बनाउँदै कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । बजेटले ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । बजेटका स्रोतहरूमा आन्तरिक राजस्व, राजस्व बाँडफाँट, सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान, रोयल्टी र चालू आर्थिक वर्षको नगद मौज्दात रहनेछन् ।