काठमाडौं । कीर्तिपुर नगरपालिका वडा ३ स्थीत ऐतिहासिक मभिं पुखु पोखरीको अस्तीत्व नै मेटिनेगरि संरचना निर्माण भएको भन्दै स्थानीयले पुनः पुरातत्व विभागको ध्यानाकर्षण गराएका छन् । यसअघि पनि स्थानीयले विभागमा निवेदन दर्तागरि तत्काल काम रोकाउन आग्रह गरेका थिए । विभागले हिजो कीर्तिपुर नगरपालिकाको कार्यालयलाई पत्र पठाएपनि काम नरोकिएपछि स्थानीयहरु पुनः विभाग पुगेका थिए ।
कीर्तिपुर नगरपालिका, वडा कार्यालय तथा सम्बन्धीत निकायमा पटक—पटक ध्यानाकर्षण गराउदा पनि संरचना निर्माणको काम नरोकिएको अधिवक्ता डा.सुरेन्द्र मानन्धरले बताए । उनले भने, ‘विभागले हिजो पत्र नगरपालिकामा पठाएपनि काम रोकिए, तत्काल काम रोक्न माग गर्दै पुनः विभागमा पुगेका हौं । काठमाडौं खानेपानी विकास बोर्डको आर्थिक सहयोगमा नगरपालिकाले सो क्षेत्रमा संरचना निर्माण गरिरहेकाले विभागले आज त्यहाँ पत्र पठाउदै छ । खासमा त्यो पत्र पठाउने दायित्व नगरपालिकाको हो । स्थानीय सरकार गैर जिम्मेवार भयो’ ।
उनले भने, ‘कीर्तिपुरवासीलाई पोखरी पोखरीकै रुपमा चाहिन्छ, सम्पदालाई सम्पदाकै रुपमा राख्नु पर्छ । एक तर्फ बस्ती अर्काे तर्फ बाटोका कारण पोखरीको आकार दिनप्रतिदिन घट्दै गएको अवस्थामा संरचना निर्माणले यसको मौलिकता नै हराएको छ, त्यो मान्ने हुदैन’ । पुरानो र ऐतिहासिक मानिने उक्त पोखरीमा स्थानीय सरकारले संरचना निर्माण गरिरहेको छ । मुख्य पोखरीमा सिमेन्ट, रड तथा इट्टाद्धारा संरचना निर्माण भएकाले पोखरीको अस्तीत्व नै मेटिने भन्दै स्थानीयले यसअघि पनि सामाजिक सञ्जाल मार्फत विरोध गर्दै आएका थिए । यदि नगरपालिकाले काम नरोके विभागबाट निरिक्षण गरी आवश्यक प्रक्रिया अघि बढाउने अधिवक्ता मानन्धरको भनाई छ ।
स्थानीय जनप्रतिनिधिहरुले राजनीतिक दाउपेचमा संरचना बनाइरहेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन । एक स्थानीयले भने, अहिले कीर्तिपुर नगरपालिकाभित्र राजनीति दाउपेच निकै बढ्दो छ, सत्तापक्षले प्रतिपक्षको भनाइ नमान्ने, प्रतिपक्षले सत्ता पक्षलाई खबरदारी गर्ने परिपाटी बढेको छ । अहिले नगरपालिकाका विकास निर्माणको गति पनि राम्रो छैन । केहि भन्यो राजनीतिक दाउपेच बढ्छ । सिधा कुरा, कीर्तिपुर नगरपालिकाभित्र संस्थागत भ्रष्ट्रचार बढ्दो छ । सिमित व्यक्तीको स्वार्थमा नगरपालिका चलिरहेको छ । यसअघि पनि विभिन्न विकास निर्माणमा प्रक्रिया नपुग्दा खबरदारी भएका हुन तर, कार्यान्वयन नभएन ।
यता, वडा नं.३ का अध्यक्ष सुबिन्द्र महर्जनले नगरपालिकाले नै स्थानीय क्षेत्रको संरचना निर्माणको अनुगमन गर्नुपर्ने भएकाले यस विषयमा नगरपालिकामै जानकारी लिन आग्रह गरे । उनले यस विषयमा वडा भन्दापनि नगरपालिका जिम्मेवार संस्था भएकाले नगरपालिकाको योजनामा निर्माणाधिन संरचनाको विषयमा उठेको प्रश्नमा वडाले जवाफ नदिने बताए ।