काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू बिक्री गर्न प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले रुग्ण उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । उक्त प्रक्रियाका लागि मन्त्रालयले यसका लागि आशय पत्र मागेको छ ।
मन्त्रालयले पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइटको सम्पत्ति मूल्याङ्कन (भ्यालुयसन) का लागि परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालनीको लागि आशय पत्र मागेको छ ।
यही असार २३ गतेसम्म जनकपुर चुरोटको सम्पत्ति मूल्याङ्कनको आशय पत्र पेस गर्ने भनिएको छ । यस्तै, असार २३ गते नै आशय पत्र खोल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयले बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्टको सम्पत्ति मूल्यांकनका लागि असार २७ गतेलाई आशय पत्र पेस गर्ने मिति तोकिएको छ । उक्त उद्योगहरूको लागि सोही दिन बोलपत्र खोल्ने जानकारी मन्त्रालयले दिएको छ । अर्थ मन्त्रालयका अनुसार रुग्ण चार उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गरेर मात्रै प्रक्रिया अघि बढ्ने छ ।
सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२—०८३ को बजेटमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट, गोरखकाली रबर उद्योग, हेटौँडा र उदयपुर सिमेन्ट उद्योगलगायतका सार्वजनिक प्रतिष्ठानको विद्यमान अवस्था र व्यावसायिक सम्भाव्यताको अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गरिने उल्लेख गरेको छ । बजेटमा उल्लेख गरे बमोजिम नै मन्त्रालयले पहिलो चरणमा चार उद्योगको सम्पत्ति मूल्याङ्कन थालेको मन्त्रालयले जनाएको छ । गत वैशाख १५ गते बसेको मन्त्रीपरिषद्ले सात रुग्ण उद्योगको सम्पत्ति ‘व्यवस्थापन’ गर्ने निर्णय लिएको थियो ।
उक्त दिन मन्त्रिपरिषद्ले जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि गरी सात प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि अर्थ मन्त्रालयले सात उद्योगको अध्ययन अघि बढाएको छ । अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलको संयोजकत्वमा समिति गठन गरेर अध्ययनको काम गरिरहेको छ । सात उद्योगहरूमध्ये उदयपुर र हेटौडा सिमेन्ट उद्योग मात्र सञ्चालनमा छन् । तर, गोरखकाली, जनकपुर, ओरियन्ट, बुटवल धागो कारखाना बन्द भएका छन् ।