काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन नेपाल फार्मेसी परिषदलाई सघाउने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषदलाई भन्नुभएको थियो । लगत्तै परिषदले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो ।
परिषदले आगामी पुस ४ गतेबाट लागू हुने गरी गत मङ्सिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो ।
कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधी वितरणमा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय पुस ४ गतेबाट लागू हुँदैछ ।
यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषदका सजिष्ट्रार संजिवकुमार पाण्डेले बताउनुभयो ।
मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाउनुभएको छ । औषधीको बिक्रीलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाई समेत अनुगमन बढाउन सजग गराउनुभएको छ । यसका अलावा औषधी बिक्री वितरणमा बेथिति देखिए नदेखिएकोसमेत अनुगमन गर्ने र दोषी देखिएमा एकै साथ कारबाही अघि बढाइने उहाँले बताउनुभयो ।
औषधीको मूल्य समायोजन गर्नका लागि गठित समितिले अहिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधीमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी रहेको मन्त्री पौडेलले बताउनुभयो ।