Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाराहीका चार होटललाई साटाको उत्कृष्ट अवार्ड


बाराहीका चार होटललाई साटाको उत्कृष्ट अवार्ड

काठमाडौं । बाराही समूहले काठमाडौमा संचालन गरेको होटल बाराहीले दक्षिण एसियाकै उत्कृष्ट होटलको अवार्ड (गोल्ड) हात पारेको छ। बाराहीले नै संचालन गरेको पोखराको सराङकोटस्थित सराङकोट माउन्टेन लजले मोस्ट रोमान्टिक रिसोर्टको अवार्ड हात पारेको छ।  

त्यस्तै चितवनमा संचालन भइरहेको बाराही जंगल लजले उत्कृष्ट वाइल्ड लाइफ लजको अवार्ड हात पारेको छ। पोखराको लेकसाइडमै संचालनमा रहेको आवास पोखरा (४० कोठा मुनि)ले सहरको उत्कृष्ट होटलको अवार्ड हात पारेको छ।  

काठमाडौंस्थित होटल बाराही दुइवर्षदेखि संचालनमा छ। बाराही काठमाडौंमा ८० (७७ डिलक्स र ३ सुइट) कोठा छन्। त्यस्तै सराङकोट माउन्टेन लजमा ३० (२८ डिलक्स र २ सुइट) वटा कोठा रहेका छन। बाराही जंगल लजमा ४० डिलक्स र १ फ्यामिलि सुइट गरि ४१ कोठा छन। पोखराको लेकसाइडस्थित आवासमा ३ सुइट, एक अपार्टमेन्ट र ३० डिलक्स रुम छन्। बाराहीले नै अहिले पोखरामा १ सय ८० कोठा सहितको डिलक्स पाँचतारे होटल बनाउँदैछ।

पोखराको ‘नेचुरल भ्यु पोइन्ट’ मानिने सराङकोटको डाँडामा रहेको सराङकोट माउन्टेन लजमा माछापुच्छ्रेको छाँया डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृंखला र सुर्योदय हेर्दै रमाउन सकिने बाथटब, शितल मौसम र उत्कृष्ट आतिथ्यताले परिचित छ। त्यस्तै बाराही जंगल लज पर्यावरणमैत्री पूर्वाधारको रुपमा परिचित छ। यस्तै पोखरामा संचालित आवास पोखरा भने बजेट होटलका ग्राहकको रोजाईमा पर्ने गरेको छ।

बाराहीका महाप्रबन्धक राजकुमार केसीका अनुसार होटलमा बसेका पाहुनाको प्रतिक्रिया, भोटिङ लगायतका आधारमा बाराही समुहका होटलले अवार्ड पाएको बताए। ‘बाराहीले उत्कृष्टताको छवि बनाएको छ। आगामि दिनमा अझै गुणस्तरीय सेवा दिन बाराही परिवारलाई हौसला मिलेको छ,’ केसीले भने।

बाराहीका संचालक विप्लव पौडेलका अनुसार पोखराको लेकसाइडमै संचालित होटल बाराहीले पनि अघिल्लो वर्ष यस्तै अवार्ड जितेको थियो। ‘दक्षिण एशियाली मुलुकमै उत्कृष्ट हुन पाउनु निकै नै ठूलो उपलब्धि हो,’ पौडेलले भने, ‘सातोतिनो मेहनतले यो अवार्ड पाइँदैन। अवार्ड हात पार्नका लागि गुणस्तरीय सेवा पस्किनुपर्छ। त्यो सेवा कम मेहनतले सम्भव छैन।’

संचालक पौडेलले यो अवार्डले बाराहीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन सफल भएको बताए। ‘बाराहीलाई नचिनेका पाहुनाले पनि अब चिन्नेछन्। बाराहीको पहिचान पहिले भन्दा अझै फराकिलो भएको छ,’ उनले भने, ‘यसले बाराही परिवारलाई गुणस्तर कायम गर्न थप बल दिएको छ।’ अन्तर्राष्ट्रिय बजारमा बाराहीलाई बजारीकरण गर्न झनै सहज भएको उनले बताए।

साटाका संस्करण दक्षिण एसियाका विभिन्न सहरमा आयोजना हुँदै आएको छ। यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको थियो। दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ। हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थालाई यस्तै उत्कृष्टताको अवार्ड प्रदान गर्दै आएको छ।