कीर्तिपुर । जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि हात पारेको छ । कीर्तिपुरको टियू मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको हो।
फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जित्न सफल भएको हो । जनकपुरले एनपीएलको ट्रफीसहित १ करोड १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायो ।
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बलमा ८७ रनको जिम्मेवारपूर्ण इनिङ खेले ।
उनले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका सैफ अलि जैब, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए । त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए ।
ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे । बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३(३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिए ।