Tuesday, August 26, 2025

२०८२ भाद्र १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चितवनका दुग्ध किसान पलायन हुनुपर्ने बाध्यता, संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या


चितवनका दुग्ध किसान पलायन हुनुपर्ने बाध्यता, संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या

चितवन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो । दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । बगालेका अनुसार जिल्लाबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउन थालेको छ ।

रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा बन्द गरेपछि अझै समस्या थपिएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगालेले बताए। बगालेका अनुसार अहिले केही मात्रामा दुग्ध विकास संस्थान (डिडिसी)ले दूध उठाउने गरेको छ । निजी संस्थाहरूले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै दूध उठ्न नसकेको उनको भनाई छ ।

दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सबै सरोकारवालाहरूले चासो दिन नसकेको सङ्घले जनाएको छ । दूध नउठ्ने अवस्था आए किसान पलायन हुनुपर्ने बाध्यता आउने बताए ।