काठमाडौं । नेपाल र अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ गर्दै आपसी सहयोग, संस्कृति, र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार नेपाल—अस्ट्रेलियाः सांस्कृतिक तथा सम्मान कार्यक्रम—२०२५ आयोजना गरिएको छ । काठमाडौँस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा नेपाल—अस्ट्रेलिया व्यापार, उद्यमशीलता, संस्कृति तथा पर्यटन प्रवर्द्धनका विभिन्न आयामबारे छलफल गरियो ।
धौलागिरी एडभेन्चर ट्रेकिङ प्रालिको आयोजना तथा मौलिका फिल्म्सको सह(आयोजनामा भएको कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रूपा विकले नेपाल र अस्ट्रेलियाबीच सुमधुर सम्बन्ध रहेको बताइन् । दुई देशलाई पर्यटन, संस्कृति, शिक्षा लगायतका विषयले जोडेको उनको भनाइ छ । अस्ट्रेलियाको मेलबर्नस्थित ग्रेट स्तुप अफ युनिभर्सल कम्प्यासनका संस्थापक इयान ग्रीन ओएएमले नेपाल र अस्ट्रेलियाबीच निकट र गहिरो सम्बन्ध रहेको बताए ।
अस्ट्रेलियाको मेलबर्नस्थित ग्रेट स्तुप अफ युनिभर्सल कम्प्यासन विश्वकै महत्वपूर्ण बौद्ध सम्पदाहरूमध्ये एक हो । लुम्बिनीस्थित बौद्धनाथ स्तुपाको प्रतिरूपमा निर्माण गरिएको स्तुपलेअस्ट्रेलियामा बुद्ध धर्म, शान्ति, ध्यान, र संस्कृतिको प्रवर्द्धन गर्दै आएको छ । कार्यक्रमका अवसरमा इयान ग्रीनलाई विशेष सम्मान प्रदान गरियो । अस्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत कैलाशराज पोखरेलले ग्रेट स्तुपमार्फत इयान ग्रीनले बौद्ध धर्मलाई विश्वव्यापी बनाउन योगदान पुर्याएको बताए ।