Monday, June 23, 2025

२०८२ असार ९, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

२१६ मेगावाट क्षमताको ‘माथिल्लो त्रिशूली–१’ आगामी तीन वर्षमा सम्पन्न हुने

अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर


२१६ मेगावाट क्षमताको  ‘माथिल्लो त्रिशूली–१’ आगामी तीन वर्षमा सम्पन्न हुने

काठमाडौं । कोरियाली लगानीकर्ताको लगानीमा बन्ने ‘माथिल्लो त्रिशूली–१’ जलविद्युत् आयोजनाको औपचारिक शिलान्यास गरिएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माणसहित २२ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनाको बाँधलगायत मुख्य संरचना हेडवक्र्सको कामको मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौँमा आयोजित विशेष कार्यक्रममा औपचारिक शिलान्यास गरेका हुन । काठमाडौँ उपत्यकाबाट करिब ७० किलोमिटर दुरीमा रहेको २१६ मेगावाट क्षमताको सो आयोजना निर्माण आगामी सन् २०२६ सम्ममा सम्पन्न गरिसक्ने आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको लक्ष्य छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर निर्माण अवधिको ब्याजसहित रहेको आयोजनामा स्थानीय लगानीकर्ताको १० प्रतिशतबाहेक सबै स्वामित्व तथा ऋण विदेशीकै रहेको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी १९ करोड ४२ लाख अमेरिकी डलर रकम स्वपुँजी इक्विटीबाट जुटाइएको छ । आयोजनाका लागि रसुवाको आमाछोदिङमो गाउँपालिकाको हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृहलगायतका संरचना बन्ने छन् ।

बर्सातको अन्त्यसँगै बाँध संरचना निर्माण थाल्ने जनाइएको छ । समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपालले जलविद्युत्को स्वदेशी खपतका अतिरिक्त विदेश निर्यातका लागि पनि अनकूल वातावरण निर्माण गरेको बताउँदै, जलविद्युत्को विकासमार्फत आर्थिक रूपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले पर्याप्त नीतिगत व्यवस्था गरिरहेको बताए । मुख्य रूपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाको सो आयोजना समयमै सम्पन्न गर्नु आवश्यक रहेको बताए ।

आयोजनाको मुख्य लगानीकर्ता ‘कोरिया साउथ इस्ट पावर (कोइन)’ का प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालमा उपलब्ध जलस्रोतमार्पmत हरित ऊर्जा उत्पादन गरी दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तनका असर न्यूनीकरणमा भूमिका खेल्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

सन् २०११ मा पहिलो पटक लगानीको चासो लिएर ‘कोइन’ नेपाल आएको थियो । विभिन्न चरणमा सो आयोजनाको अध्ययन तथा सम्झौता गर्दै सन् २०२० मा इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्ट्र्याक्ट साइन भएको थियो भने गत वर्ष नै सो आयोजना स्थलमा निर्माणमा काम सुरु गरिएको थियो । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी ‘डुसान एनबेलेटी’ ले कार्य गरिरहेको छ ।

आयोजनाको प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोइन, विश्व बैङ्क समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ । वार्षिक एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने सो आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८।७५ प्रतिशत हिउँदयाममा र ६१।२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ‘त्रिशूली–३ बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने जनाइएको छ । कम्पनी र प्राधिकरणबिच सन् २०१८ मै विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भइसकेको छ ।