काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको आग्रहमा सरकारले लगानीसम्बन्धी आठ वटा कानुन संशोधन गरेको जानकारी दिँदै द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा अध्यक्ष ढकालले पहिलो पटक नेपालको सार्वभौम साख परीक्षण भएको र दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो अवस्थामा नेपाल रहेको जानकारी दिए ।
यसले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनले बताए । साथै उनले सीमा क्षेत्रको पूर्वाधारलगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए । समिटमा १२० जना चिनियाँ व्यवसायीको सहभागिता रहेको थियो ।
नेपालका तर्फबाट महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्ससहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रहेको महासङ्घले जनाएको छ । समिटमा चीन सरकारका उच्चपदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीको समेत सहभागिता थियो । समिटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो ।