काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावट घटाएर १२ दशमलव ७३ प्रतिशतमा झारेको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आर्थिक वर्षमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित भएको हो ।
चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ । आठ वर्षअघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।
आर्थिक वर्ष २०७९—८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो । आर्थिक वर्ष २०८०—८१ मा चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२—७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३—७४ मा एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो ।
त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफा गरेको छ । प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आर्थिक वर्ष २०७२—७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९ दशमलव आठ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।