काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२—०८३ को नीति कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री बहादुर सिंह लामाले संसद्मा पेस गरेको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख पाठकले प्रस्तुत गरेको उक्त प्रस्तावलाई प्रदेशसभा बैठकमा उपस्थित बहुमत सदस्यहरूले हुन्छ भनेर स्वीकृत गरेका थिए । प्रदेशसभाको बैठकमा सरकारको नीति कार्यक्रम माथि ३ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका थिए । बैठकमा माओवादी केन्द्रबाट सुस्पा भुजेट समेत ५ जनाले संशोधन प्रस्ताव राखेका थिए भने युवराज चौलागाई र सृजना सायजुले संशोधन प्रस्ताव राखेका थिए । उनीहरूको संशोधन प्रस्तावलाई प्रदेशसभाको बैठकबाट बहुमतले अस्वीकृत गरिएको थियो ।
जेठ १४ गते बसेको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति कार्यक्रम माथि जेठ १९ गतेदेखि बसेको बैठकमा निरन्तर छलफल भइरहेको थियो । सरकारको नीति कार्यक्रम माथि भएको लगातार ३ दिनसम्मको छलफलमा ६४ जना सांसदले भाग लिएका थिए । उनीहरुले शिक्षा स्वास्थ्य लगायत नागरिकको आधारभूत आवश्यकता तथा सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले नीति कार्यक्रमलाई बजेटमा सन्तुलित ढङ्गबाट समावेश गर्नुपर्ने माग गरे ।
सरकारले बजेटलाई सन्तुलित बनाउन निर्वाचन क्षेत्र केन्द्रित भएर आवश्यकताको आधारमा कार्यक्रम तयार गर्नुपर्ने उनीहरुले बताए । प्रदेशको आर्थिक उपार्जनका कार्यक्रमहरू सञ्चालन गरी नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने गरी अघि बढ्न जरुरी रहेको उनीहरूको भनाई छ ।
प्रदेशको एकल अधिकारको सूचना रहेका क्षेत्रहरूमा सरकारको बजेट केन्द्रित गर्नुपर्ने उनीहरूको माग रहेको छ । प्रदेश सरकारले विगतको असमान बजेटलाई व्यवस्थित र सन्तुलित बनाउनुपर्ने चुनौती रहेकाले गम्भीरताका साथ नागरिकहरू प्रति लक्षित हुन उनीहरुले आग्रह गरे । राजस्वका दर र दायरा, उच्च शिक्षा, सहज स्वास्थ्य सेवा, खानेपानीको आपूर्ति, रोजगारी र उत्पादन तथा उत्पादकत्व वृद्धिका विषयमा सरकारले विशेष ध्यान दिन जरुरी रहेको उनीहरूको भनाई छ ।