Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रसुवा भन्सारमा राजस्व उठ्न थाल्यो


रसुवा भन्सारमा राजस्व उठ्न थाल्यो

काठमाडौं । लामो समय पछि सञ्चालनमा आएको रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व असुली गरेको छ । नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला सवारी साधन, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापतबाट राजस्व वृद्धि भएको हो ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ माल सामग्रीको नियमानुसार भन्सार शुल्कबापत रु पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार असुली गरी सो रकम राजस्व खातामा दाखिला गरिएको हो ।

साउन भदौको असुली लक्ष्य रु एक अर्ब चार करोड ४१ लाख २१ हजार भएकोमा पछिल्लो समय व्यवसायीले आयात परिमाण बढाएको र निर्देशिकाको मर्मअनुसार मालवस्तुको गुणस्तरका आधारमा मूल्याङ्कन भएका कारण भन्सार शुल्कबापतको राजस्व वृद्धि भएको जनाइएको छ । गत आव २०७९-८० को साउन तथा भदौ महिनाको तुलना गर्दा यस चालु आवमा उल्लेखनीयरूपले राजस्व वृद्धि भएको हो ।

चालु आवको साउन र भदौ महिनामा लक्षित गरिएको अनुमानभन्दा दुई सय नौ प्रतिशतले असुलीमा वृद्धि भएको हो । व्यवसायीले मालसामग्री भन्सार हातामा भित्र्याए प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकारीले बताएका छन् । यस्तै नेपाली व्यवसायीले झिकाएको करिब पाँच सय चिनियाँ विद्युतीय कार भने क्रमिकरूपमा भन्सार छुटाई काठमाडौँ लाने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ ।