काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्ममा मुलुकको कुल वस्तु व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ भएको छ । यो गत वर्षको तुलनामा १५.९ प्रतिशतले कमी हो । अघिल्लो वर्ष २४.९ प्रतिशतले घाटा बढेको थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको देशको आर्थिक तथा वित्तीय स्थिति अनुसार यो वर्षको १० महिनामा कुल वस्तु निर्यातमा २४.५ प्रतिशतले कमी आएको छ । अहिलेसम्म निर्यात १३० अर्ब ९० करोड पुगेको हो । अघिल्लो वर्षको निर्यात ५९.८ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यातमा ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १००.६ प्रतिशत र ८.२ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै दश महिनामा कुल वस्तु आयातमा १६.८ प्रतिशतले कमी आएको छ । वैशाखसम्ममा १३३५ अर्ब ३२ करोडको आयात भएको हो । अघिल्लो वर्ष यो बेला आयात २८.० प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५।१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम।एस।विलेट, औषधी, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।
बैंकका अनुसार भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । यस्तै रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । अहिले निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको अनुपात १०.८ प्रतिशत थियो । बैंकका अनुसो कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.९ प्रतिशत र ४४.५ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.६ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७।१ प्रतिशत, ०.०२ प्रतिशत र ५२.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पुँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.८ प्रतिशत, १०.४ प्रतिशत र ३६.८ प्रतिशत रहेका थिए ।