Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ


ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका  छन् ।  समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

यससँगै यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन् ।तत्कालीन अधिकृत पोखरेलले समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान कागजात तयार पारेका थिए । त्यस्तै गुठीमार्फत् नक्कली मोही खडा गरिएका महर्जनले ६ लाख रुपैयाँ लिएर आफू नक्कली मोही बन्न तयार भएको अनुसन्धानमा खुलेको छ ।

समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमा लैजान तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्‍ बैठकले २०६९ का विभिन्न मितिमा निर्णय गरेको थियो ।सोही क्रममा नक्कली मोही खडा गर्ने गरी भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव दिनेश हरि अधिकारीसहितका कर्मचारीले टिप्पणी उठाउनेदेखि मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गर्नेसम्मका काम गरेका थिए ।त्यसका लागि डिल्लीबजार मालपोत, समरजंग कम्पनी र गुठी संस्थानका कर्मचारीको मिलेमतोमा भूमाफियाले जग्गा हडप्ने पृष्ठभूमि तयार पारेका थिए ।

यही प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईमाथि पनि अनुसन्धान गर्नुपर्ने माग उठिरहेको छ ।समरजंग कम्पनीबाट टिकिन्छा गुठीमा ५ रोपनी जग्गा कायम गरेर भूमाफिया रामकुमार सुवेदी र सोभाकान्त ढकालसहितका गिरोहले आफ्नो बनाएका थिए ।भूमाफियाको योजना, वडाको सरजमिन, गुठी संस्थानको सिफारिस र सर्वोच्च अदालतको परमादेश पाएपछि भूमि सुधार मन्त्रालयले टिप्पणी उठाएर २०६९ साउन ९ को मन्त्रिपरिषद बैठकमा पेस गरेको थियो ।

साउन १७ मा भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले यो फाइल मन्त्रिपरिषद्को सामाजिक समितिमा पेस गरी छलफल गर्ने निर्णय गरेको थियो ।समितिको असोज १४ को बैठकले गरेको सिफारिसअनुसार असोज १८ को मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्दै भनेको थियो, मन्त्रिपरिषद्को सामाजिक समितिको निर्णयअनुसार समरजंग कम्पनीका आठ कित्ता जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्न स्वीकृति दिने ।’

मन्त्रिपरिषद्को निर्णयका आधारमा गुठी संस्थानका प्रशासक बलिरामप्रसाद साह तेलीले सरकारी कम्पनीका नाममा रहेको ३ रोपनी १२ आना ३ पैसा जग्गा बराबरका आठ कित्ता जग्गा टिकिन्छा गुठीका नाममा दर्ता गर्ने निर्णय गरेका थिए ।तर संस्थानको तहसिल कार्यालय आफैंले ४ कित्ता थप गरी कुल १२ कित्ताको फाइल मालपोत कार्यालय पठाएको थियो । मालपोत कार्यालयले २०७० वैशाख १७ मा द्वारिका महर्जनसमेत ५ जनाका नाममा कुल ५ रोपनी २ पैसा जग्गा कायम गरिदिएको थियो । यो प्रक्रिया पूरा भएको १० औं दिन अर्थात् वैशाख २७ मा भूमाफिया सुवेदीलगायतका नाममा सारिएको थियो ।