काठमाडौं । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेरयो दिवस मनाइँदैछ । यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको हो । विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।
उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो । विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए ।
ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो । यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।