काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका उद्योगीहरुसँग नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने बक्यौता उठाउन निर्देशन दिएका छन् । प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई शपथ गराउँदै ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्को निर्णयलाई समेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवम् ग्राहकहरुलाई लोडसेडिङ नहुने अवस्था बनाउन निर्देशन दिएका हुन् ।
मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन दिए । मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिए । नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मन, वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता गरे ।