काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । उनलाई शुक्रबारकै अर्थमन्त्रीस्तरीय निर्णयले ४ वर्षका लागि अध्यक्ष बनाइएको हो ।
पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक थिए । २०७१ फागुनदेखि ०७५ पुस १८ सम्म उदयपुर सिमेन्ट उद्योगमा काम गरेका पौडेलले अन्तिम २ वर्षमा उद्योगलाई नाफामा लगेका थिए । २ वर्षमा सिमेन्ट उद्योगले १४ करोड नाफा कमाएको थियो । ३० प्रतिशत क्षमतामा सञ्चालित उद्योगलाई ५० प्रतिशत क्षमतामा सञ्चालनमा ल्याएका थिए ।
सिलगुढी झापा पेट्रोलियम पाइपलाइनको डीपीआर, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइनको सम्झौता, झापा, जनकपुर, दाङ र भैरहवामा हवाई इन्धन डिपो लगायतको सुरुआत गरेका थिए । पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष बनेसँगै पौडेलले भौगोलिक जोखिम नियन्त्रणमा केन्द्रित विविधीकरण गर्ने नीति बनाइने बताए ।