Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भाटभटेनी सञ्चालक गुरुङको पक्षमा नीजि क्षेत्र, दोषी ठहर नगर्दै व्यवसायीलाई थुन्न मिल्दैन [विज्ञप्ती सहित]


भाटभटेनी सञ्चालक गुरुङको पक्षमा नीजि क्षेत्र, दोषी ठहर नगर्दै व्यवसायीलाई थुन्न मिल्दैन [विज्ञप्ती सहित]

काठमाडौं,२५ असार ।  निजी क्षेत्रका तीन ठूला छाता संगठनले पछिल्लो समय उद्यमी व्यवसायीमाथि भइरहेको धरपकडले लगानी थप निरुत्साहित हुने भन्दै आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्शले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्नेजस्ता कार्यबाट निजी क्षेत्र पनि त्रस्त बनेको भन्दै विरोध गरेका हुन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको विषयलाई संकेत गर्दै निजीक्षेत्रका तीन छातासंस्थाले विरोध जनाएका हुन् । अनुसन्धानका क्रममा रहेका गुरुङको नाम उल्लेख नगरी महासंघ, परिसंघ र चेम्बरले सयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।
 

गुरुङ ललिता निवासको जग्गा हिनामिनामा बिचौलियाको भूमिकामा पक्राउ परेका हुन् । जग्गा हिनामिना गर्न उनले नक्कली मोही खडा गर्ने, तिनका नाममा जग्गा गइसकेपछि केही पैसा दिएर आफ्नो बनाउने र त्यसपछि अर्को पक्षलाई महँगोमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङलाई पक्राउ गरेको छ ।

‘कानुनविपरीत काम गरेको प्रमाणित भए जोकोही पनि कारबाहीको भागीदार हुनुपर्छ र कारबाही गरिनुपर्छ । तर, कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्नेजस्ता कार्य गर्नु हुँदैन । यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा बहुआयामिक असर परेको हो । देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ ।’

कुनै पनि व्यवसायीलाई थुन्नेजस्ता कार्यबाट निजी क्षेत्र त्रस्त बनेको निजी क्षेत्रले जनाएको छ । ‘त्यसैले कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । राज्यको यस्तो प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना–ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परे अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्र आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।