Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दूषित खाना बिक्री गर्ने धादिङको थाक्रेमा एक होटल कारबाहिमा


दूषित खाना बिक्री गर्ने धादिङको थाक्रेमा एक होटल कारबाहिमा

धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ ।

बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।

“उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ क बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ ङ बमोजिमको कसुरमा दफा ३९ उपदफा १ ख बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ”, उनले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो ।

“फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ”, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकारसमेत गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो ।” पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी सञ्चालन भइरहेको होटलमा धादिङ, काठमाडौँ चल्ने यात्रुवाहक सवारीले यात्रुलाई खाजाखाना खुवाउँदै आएको छ ।