काठमाडौं । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको छ । हमास प्रशासित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका ६ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको र त्यसमा एक नौ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ ।
सर्जन अकरम हुसेनका अनुसार कुर्द अल अवदा अस्पताल पुग्दासम्म मृत्यु भइसकेको थियो । चिकित्सकहरूले आमाको मृत्यु भइसकेको थाहा पाएपछि अल्ट्रासाउन्ड गर्दा बच्चाको मुटुको धड्कन चलिरहेको पाएपछि तत्काल शल्यक्रिया गरी पेटभित्रको नवजात शिशुलाई उद्धार गरेका थिए ।
अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख रैद अल साउदीका अनुसार नवजात शिशुको अवस्था सुरुमा गम्भीर थियो, तर अक्सिजन र उपचारपछि उनको उपचार स्थिर छ । शिशुलाई ‘इन्क्युबेटर’ मा राखी थप रेखदेख र उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पतालमा स्थानान्तरण गरिएको छ ।