काठमाडौं । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड बढी लगानीमा सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन गर्ने भएको हो ।
भैरहवा सेजभित्र १ बिघा १३ कठ्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको बुधबार भूमि पुजन गर्दै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिन उद्योग स्थापना गर्न लागिएको जानकारी दिए । उनले ९ महिनाभित्र उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने तयारीसहित काम सुरु गरिएको जानकारी दिए । नेपाली बजारका साथै युरोपेली मुलुक र अमेरिकामा तयारी पोशाक निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
उद्योग स्थापना भई सञ्चालनमा आउँदा १ हजार २०० भन्दा बढीले रोजगार पाउने उनको भनाइ छ । उद्योग निर्माणसँगै आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा प्रशिक्षणको काम एकसाथ अघि बढाइएको गुरुङले बताए । उनका अनुसार भाटभटेनीका स्टोरहरुमा पनि यस उद्योगबाट उत्पादित सामग्री पाइने र स्थानीय बजारमा पनि पुर्याउने लक्ष्य राखिएको छ ।
सेजभित्र स्थापना गर्न लागिएको गार्मेन्ट उद्योगको समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत रहेका छन् । भाटभटेनीका अहिले देशभर २८ वटा सुपरस्टोर सञ्चालनमा छन् । त्यसबाहेक होटल, हाइड्रोमा पनि लगानी रहेको छ ।
भैरहवा भाटभटेनीको लगानी भित्रिनु यहाँका व्यवसायीहरुका लागि उत्साहको विषय भएको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले बताए । यहाँ स्थापित १३ उद्योगमध्ये ११ वटा सञ्चालनमा रहेको उनले जानकारी दिए । सेजभित्र ६८ वटा प्लट रहेका छन् । यसअघि उद्योगीहरुले यहाँको भाडादर महँगो भएको बताएका थिए । सरकारले आगामी आर्थिक वर्षको बजेटमै यसअघि प्रतिस्क्वायर फिट २० रुपैयाँ कायम रहेको भाडादरलाई घटाएर ५ रुपैयाँ गराउने जनाइसकेको छ ।