Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण:‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’


लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण:‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

काठमाडौं । यातायात पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिदैं गएको मात्र छैन, धुलो, धुँवा र ध्वनि प्रदूषणले पर्यटकलाई अशान्त बनाउँदै लगेको छ । शान्त तरिकाले रोमाञ्चित लामोयात्रा गर्न चाहने पर्यटकका लागि प्रख्यात अन्नपूर्ण र मनास्लु पदमार्गको झल्को दिनेगरी लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण भएको हो ।

‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण गरिएको यो पदमार्ग उत्तर–पूर्वी लमजुङ र उत्तर–पश्चिम गोरखाका उच्च पहाडी तथा हिमालको फेदसम्म पुग्न सकिन्छ । पर्वतीय पर्यटन व्यावसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान० र लमजुङ तथा गोरखाका पाँच स्थानीय तह मिलेर वैकल्पिक नयाँ पदमार्ग बनाएका हुन् ।

यो पदमार्ग लमजुङको डोना (ठुलागी)–मेमेपोखरी हुँदै गोरखाको रुबीनाला (पाँच हजार मिटर) पास हुनेछ । १८ दिनको यो यात्रामा जानेले बुद्ध र हिमालचुलीको बेस छुनेछन् । तल्लो क्षेत्रको पदमार्ग लमजुङको लिपे–बराहपोखरी क्षेत्र (३२०० मिटर) सम्म पुग्नेछन् । यो यात्रा करिब १३ दिनको हुनेछ ।
समुद्री सतहबाट तीन हजार २०० मिटरको उचाइमा रहेको गोरखाको अजिरकोटदेखि यात्रा सुरू भएर दुधपोखरी हुँदै दोर्दीतर्फ अगाडि बढ्छ । यात्रामा करिब पाँच हजार उचाइसम्म पुगिनेछ । यस पदमार्गभित्र गोरखा बारपाक, अजिरकोट, नागेपोखरी, दुधपोखरी, नोटाँचे, लिपेलेक, मेमेपोखरी, बराहपोखरी, ठूलागी ताल लगायत प्राकृतिक एवम् सांस्कृतिक क्षेत्र पर्दछन् ।

ट्रेल पार गर्न १८ दिन लाग्नेछ । जसमा दोर्दी गाउँपालिकामा मात्र नौ दिनको रहेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बारपाक, मस्र्याङ्दी, अजिरकोट, राइनास जताबाट पनि यात्रा सुरु गर्न सकिन्छ । त्यस्तै, ट्रेलको तल्लो रेन्ज अन्तर्गत गोरखाको अजिरकोट भच्चेक हुँदै लमजुङको दुधपोखरी बिचौर, इलमपोखरी, लिपेलेक, दाम्राङ, कीर्तिपुर, टापगाउँ, बारपोखरी, हिलेटक्सार हुँदै बेसिशहरको पिसहिल र मस्र्याङदी गाउँपालिकासम्म पुग्न सकिन्छ ।

ठुला धार्मिक आस्थाका तालहरु, मनमोहक झरनाका दृष्यहरू, ऐनाजस्तै छर्लङ देखिने हिमाल (हिमालचुली, बुद्ध हिमाल, हर्कचुलीलगायत हिमाल) को मनमोहक दृष्य, अद्भूत भौगोलिक दृष्यहरुले भरिपूर्ण ‘ग्रेट लेक ट्रेल’ एउटा लुकेको हिरा रहेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

पदमार्गमा लोपोन्मुख वन्यजन्तुहरू कस्तुरी, मृग, रेड पाण्डा, राष्ट्रिय चरा डाँफेलगायत धेरैथरिका चराचुरुङ्गी र जनवारहरू पाइन्छ । विभिन्न थरिका गुराँस, सयौँथरिका जडिबुटीले भरिपूर्ण रहेकोले यो ट्रेल धेरै सम्भावना रहेको छ । यो ट्रेललाई पर्यटकको समयअनुसार छोटो र लामो गर्न सकिने टानले जनाएको छ ।

माछाखोला, लार्पाक, बारपाक, भच्चेक, बेसीसहर, भुलभुले, ङादी, बाहुनडाँडा, घेर्मु हुँदै जगतबाट पनि जान र आउन सकिन्छ । केही समस्या पर्दा धेरै ठाउँमा फोन लाग्ने, आपतकालीन अवस्थामा सहजै बस्ती झर्न सकिनेछ । यो ट्रेलमा नागपोखरी, दूधपोखरी, मेमे पोखरी अहिले पनि तीर्थालुयात्रा गर्ने धार्मिक आस्थाका पोखरीमध्ये पर्दछ ।

टेलको बुधबार काठमाडौँमा आधिकारीक रूपमा शुभारम्भ गरिएको छ । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), टानका अध्यक्ष सागर पाण्डे, पर्यटन सचिव, बोर्डका महानिर्देशक, पालिकाका जनप्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधिहरू पर्यटन व्यवसायीहरू सहभागी थिए ।