एजेन्सी । अमेरिका र चीनले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार तनाव कम गर्ने ढाँचामा सैद्धान्तिक रूपमा सहमति भएको बताएका छन् । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले यो सम्झौताले दुर्लभ पृथ्वी खनिज र चुम्बकहरूमा प्रतिबन्धहरू समाधान गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।
दुवै पक्षले अब यो योजनालाई अनुमोदनका लागि आफ्ना देशका राष्ट्रपतिहरू – डोनाल्ड ट्रम्प र सी जिनपिङकहाँ लैजाने बताएका छन् । अमेरिका र चीनका शीर्ष अधिकारीहरूबीच बेलायतको लन्डनमा दुई दिन व्यापार वार्ता भएको हो । आधुनिक प्रविधिका लागि महत्त्वपूर्ण रहेका दुर्लभ पृथ्वी खनिजहरूको चिनियाँ निर्यात बैठकको प्रमुख मुद्दा रहेको खबरमा उल्लेख छ ।
गएको महिना अमेरिका र चीनले व्यापार शुल्कमा अस्थायी युद्धविराममा सहमति जनाएका थिए तर त्यसपछि दुवै देशले एकअर्कालाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।
चीनले स्मार्टफोनदेखि विद्युतीय गाडीसम्मको उत्पादनका लागि आवश्यक पर्ने दुर्लभ पृथ्वी धातु र चुम्बकको निर्यात जारी गर्न ढिलाइ गरेको अमेरिकाले बताएको छ । यसैबीच अमेरिकाले अर्धचालक र कृत्रिम बुद्धिमत्ता (एआई) सँग जोडिएका अन्य सम्बन्धित प्रविधिहरूजस्ता अमेरिकी सामानहरूमा चीनको पहुँचलाई प्रतिबन्धित गरेको छ ।यो सम्झौतालाई ट्रम्प र सीले यसलाई अनुमोदन गरेपछि कार्यान्वयनको बाटोमा लैजाने अमेरिकी वाणिज्य सचिवले पत्रकारहरूसँग बताएको खबरमा उल्लेख छ ।