काठमाडौं । ताप्लेजुङको फुङलिङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्युभएको छ । भने, दुई जना घाइते भएका छन् । ताप्लेजुङ प्रहरीका अनुसार दुर्घटनामा ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सविना आचार्य र उनका छोरा १० वर्षीय भविमय आचार्य घाइते भएका हुन् ।
उनीहरुलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते सविना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक ताप्लेजुङ फुङलिङ नगरपालिकाका ४२ वर्षीय दुर्गा भट्टराईको मृत्युभएको छ ।
आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो । करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।