काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले मंगलबार साढे ११ बजे श्वेतपत्र जारी गर्ने जनाएको थियो । तर मंगलबार केही प्राविधिक कारणले गर्दा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जारी गर्ने श्वेतपत्र कार्यक्रम स्थगित गरेकेो जनाएको हो ।
शाक्यको सचिवालयले अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काको अध्यक्षतामा सोमबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त श्वेतपत्र स्वीकृत गरिसकेको छ ।
सञ्चालक समितका एक सदस्यले सोमबार नै श्वेतपत्र स्वीकृत गरिसकेकाले त्यसमा उल्लेखित तथ्यांकहरु मिलाएर सार्वजनिक गर्ने कार्यक्रम तय भइसकेको थियो । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर ९९ प्रतिशत विद्युतीकरण भएको बताउँदै आएका थिए ।
तर प्राधिकरणले तयार पारेको श्वेतपत्रमा विद्युतीकरण ९१.४१ प्रतिशतमा पुगेको उल्लेख छ । यस्तै, ०८१ माघसम्म कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको उल्लेख गरिए पनि घिसिङले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको जनाएका थिए ।