Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान


नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान

काठमाडौं । चालू आर्थिक वर्ष २०८१—८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार आर्थिक वर्ष २०८१—८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनका अनुमान आधारभूत मूल्य र उपभोक्ताको मूल्यमा प्रस्तुत गरिएको छ । अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यको जिडिपी प्रयोग गरिएको छ ।

जसअनुसार चालु आर्थिक वर्ष २०८१—८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०—८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९—८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण सार्वजनिक गरिएको थियो ।

हाल प्रकाशित राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आर्थिक वर्ष २०६७—६८ को मूल्य (बेस इयर मूल्य)मा आधारित छन् । त्यसैगरी, आर्थिक वृद्धिदर मापन गर्नको लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन प्रयोग गरिएको छ ।

जसअनुसार चालु आर्थिक वर्ष २०८१—८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४।६१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०—८१ मा ३।३६ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९—८० मा २.२९ प्रतिशत कायम भएको विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी, उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०—८१ मा ३.६७ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९—८० मा १.९८ प्रतिशत कायम भएको थियो ।