काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम लिग खेल आज पश्चिमका दुई टोली सुदुरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । लिगको प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लाग्ने, प्लेअफमा क्वालिफाय र एलिमिनेटरको समिकरण तय हुने खेल भएकोले अन्तिम खेल भएपनि यस खेललाई निकै चासोको रुपमा हेरिएको छ ।
यस खेलपछि शीर्ष चार स्थानमा रहेर प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्नेछ । यस्तै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने समिकरण पनि तय हुनेछ ।अहिलेसम्म सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेको छ । तर शीर्ष दुईमा कुन टिम हुनेछ तय भएको छैन । चितवनले पनि तेस्रो वा चौथोमा रहेर एलिमिनेटर नै खेल्ने लगभग तय छ । बाँकी एक स्थानमा कुन टिम हुनेछ त्यसका लागि सुदूर र कर्णालीबीचको नतिजा कुर्नुपर्नेछ ।
सुदूरपशिच्मि ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स ७ खेलबाट १० अंक जोडेर दोस्रोमा छ । सुदूरको नेटरनरेट राम्रो रहेकोले बोल्ट्स भन्दा अघि छ ।
यस्तै चितवन र कर्णालीसँगै काठमान्डु गुर्खाजको पनि समान ८ अंक छ । चितवन र काठमान्डुले सबै ७ खेल खेलिसकेका छन् । ८ अंक हुने तीन टिम मध्ये नेटरनरेटका आधारमा अघि रहेपनि चितवनले प्लेअफमा स्थान बनाएको हो ।
अब कर्णाली याक्स र काठमान्डु गुर्खाजमध्ये एक टिमले प्लेअफमा स्थान बनाउँछ । अहिलेको अवस्थामा कर्णाली प्लेअफका लागि दाबेदार छ र होडमा अघि छ । किनभने काठमान्डु भन्दा कर्णालीको नेटरनरेट राम्रो छ ।
कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने सम्भावना छ ।