काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड -सिडीएससी को सञ्चालक समितिले कम्पनीहरूको सेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिडिएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकरण (भौतिक सेयरलाई विद्युतीय प्रणालीमा परिणत गर्ने) प्रक्रिया लम्ब्याउँदै अन्ततः सबै कम्पनीहरूको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको सेयर छुट्टाछुट्टै (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर–आईएसआईएन) नम्बर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पठाएको हो ।
सो प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र सर्वसाधारण लगानीकर्ताबीच थप अन्यौलता र निराशा पैदा भएको इप्पानको दाबी छ । इप्पानले चेतावनी दिँदै भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, यसले निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीप्रति विश्वास गुमाउनुका साथै वैदेशिक लगानीकर्तामा समेत नेपालको लगानी वातावरणबारे गम्भीर आशंका उत्पन्न भएको छ ।
यसरी संस्थापक र सर्वसाधारण सेयर छुट्याउने व्यवस्थाले विदेशी लगानीकर्ताले आफ्नो सेयर बेचेर लगानी फिर्ता लिनै नसक्ने अवस्था सिर्जना गर्नेछ, जसले सरकारको वैदेशिक लगानी प्रवर्द्धन नीति र पूँजी बजारको सुदृढीकरण लक्ष्यलाई नोक्सान पुर्याउने निश्चित छ ।ु