काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्तिका लागि मनोनीत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सहसचिव नेपाललाई वैकल्पिक कार्यकारी निर्देशकमा मनोनयन गर्ने निर्णय गरेको हो ।
एडीबीको वैकल्पिक कार्यकारी निर्देशकले फिलिपिन्स मनिलास्थि एडीबी मुख्यालयमा बसेर पूर्णकालीन भएर काम गर्ने छ । एडीबीको नेतृत्वमा बसेर काम गर्ने वैकल्पिक कार्यकारी निर्देशकको पदावधि २ वर्षको हुन्छ ।
यसअघि तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीलाई सरकारले २०७३ सालमा वैकल्पिक कार्यकारी निर्देशक बनाएर पठाएको थियो । तर, बीचमै उनलाई फिर्ता बोलाएर २०७५ सालमा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रामशरण पुडासैनीलाई उक्त पदमा पठाइएको थियो ।