काठमाडौं । ट्राफिक प्रहरीले सडकमा रोकिएका सवारी साधनमा 'ह्विल लक' लगाउने कानुनी आधारको विषयमा भएको विवादमा राष्ट्रिय सूचना आयोगले बग्गीखाना ट्राफिक कार्यालयका प्रमुखलाई लिखित जवाफ दिन आदेश दिएको छ ।
आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश प्रसाद आचार्य र सूचना आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारी पौडेलको फागुन १५ को सामूहिक निर्णय अनुसार बग्गीखाना ट्राफिक कार्यालयलाई सात दिनभित्र सूचना उपलब्ध गराउन आदेश दिइएको हो ।
कानुनका विद्यार्थी विवेक चौधरीले गएको माघ १५ गते बग्गीखाना ट्राफिक कार्यालयका सूचना अधिकारीलाई ईमेलमार्फत कानुनी जानकारी मागेका थिए ।
तर, तोकिएको समयभित्र कुनै जवाफ नआएपछि उनले फागुन ५ गते कार्यालय प्रमुखसमक्ष निवेदन दिए । त्यहाँबाट पनि प्रतिक्रिया नआएपछि उनले बग्गीखाना ट्राफिक कार्यालयलाई विपक्षी बनाउँदै फागुन ११ मा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिएका थिए ।