Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रुपन्देहीमा हुन्डी कारोबारमा संलग्न ३ जना पक्राउ


रुपन्देहीमा हुन्डी कारोबारमा संलग्न ३ जना पक्राउ

काठमाडौं । अवैध रूपमा हुन्डी कारोबारमा संलग्न तीन जना रुपन्देहीमा पक्राउ परेका छन्। उनीहरूलाई फरक–फरक स्थानमा नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको टोलीले २०८२ साल वैशाख ३१ गते दिउँसो ३ बजे सिद्धार्थनगर नगरपालिका–५ स्थित बैङ रोडमा लु ६८ प ४७९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक, सम्मरीमाई गाउँपालिका–७ का ३८ वर्षीय दिनेश वनियाको साथबाट नगद १३ लाख ५० हजार फेला पारेको थियो।

उक्त रकमको श्रोत स्पष्ट नखुलेपछि उनलाई नियन्त्रणमा लिई हुन्डी कारोबारको आशङ्कामा जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले उनलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी सुरज कार्कीले जनाएका छन् ।


त्यसैगरी, २०८२ साल जेठ १ गते दिउँसो साढे १२ बजे सिद्धार्थनगर नगरपालिका–१२ मा हुन्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका–१, कपिलवस्तुका ४६ वर्षीय मसिउद्दिन फकिरलाई पक्राउ गरेको छ। उनको साथबाट कालो र खैरो झोलाभित्र लुकाइएको ३ लाख ८६ हजार २ सय नेपाली नोट र एक थान मोबाइल बरामद गरिएको छ।

उनलाई पनि अदालतमा पेस गरिएकोमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तेस्रो घटना पनि सोही दिन र समयमा सोही ठाउँबाट भएको हो।

भारत, नौतनवाका ५० वर्षीय कृष्ण अग्रहरीलाई युपी ५६ जे १६५३ नम्बरको मोटरसाइकलमा शङ्का लागी रोकी जाँच गर्दा उनको झोलाबाट लुकाई राखिएको ८ लाख ३९ हजार ४ सय ५० नगद र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ। उनलाई पनि हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पक्राउ गरी ७ दिनको म्याद थपसहित अनुसन्धान जारी रहेको कार्कीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार, हुन्डीजस्ता अवैध वित्तीय कारोबारहरूले राष्ट्रिय अर्थतन्त्रमा प्रतिकूल असर पार्ने भएकाले यस्ता गतिविधिमा संलग्नहरूमाथि कडाइका साथ कारबाही गर्ने नीति अनुरूप निगरानी बढाइएको छ।