काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुनेछ ।
‘त्रिभुवन विमानस्थलमा निर्माणका कामको गति बढिरहेका कारण यात्रु सहजताका लागि उडान समय बढाइएको हो, ‘त्रिभुवन विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘अब काम पनि भइरहन्छ र उडान समय अवधि पनि अझै बढ्दै जान्छ।’
अहिले त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ। आगामी १५ माघदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ।
हाल नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ ।
विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।
विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।
विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।