काठमाडौं । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।
हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । तिनमा ८१ पुरुष १३ महिला छन् । इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् ।
हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गर्ने जनाएको छ । हमासका अनुसार डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन पहिलो दिन रिहा हुनेछन् । ३१ वर्षीय डोरोन स्टेनब्रेचर पशु चिकित्सा नर्स हुन् । हमासले अक्टुबर ७ मा आक्रमण गर्दा उनी किबुज केफर अजाको अपार्टमेन्टमा थिइन् । २८ वर्षीया एमिली डमारीलाई किबुट्ज कफर अजाबाट बन्धक बनाइएको थियो ।
उनीसँग बेलायत र इजरायलको दोहोरो नागरिकता रहेको बताइएको छ । त्यस्तै २४ वर्षीय रोमी गोनेनले सुपरनोभा फेस्टिभलबाट भाग्न खोज्दा एम्बुसमा परेकी थिइन् । इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार हमासले बन्धक बनाएकामध्ये १ सय ९ जनालाई अशक्त अवस्थाका र मानवीय सहायताका लागि अस्थायी युद्धविराम भएका बेला गरी मुक्त गरेको थियो ।
८ जनालाई इजरायली सेनाले मुक्त गराएको थियो भने ३७ जनालाई मृत्युपछि जिम्मा लगाइएको थियो । हमासको नियन्त्रणबाट भागेका ३ जनाको भने इजरायली सेनाको आक्रमणमा मृत्यु भएको थियो ।
हमासले सन् २०२३ अक्टुबर ७ गरेको आक्रमणमा इजरायलमा १२ सयको ज्यान गएको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ८ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ ।
यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीलाई फोनमार्फत अपिल गरेकी थिइन् । राणासँगको कुराकानीका क्रममा सम्भव भएसम्म विपिनलाई पहल चरणमै रिहा गर्न पहल गर्ने बताएका थिए । कतारसहित अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको हो ।
सम्झौताअनुसार ६ साता लामो पहिलो चरणमा ५ जना इजरायली सैनिकसहित ३३ जनालाई रिहा गर्ने र त्यसको बदलामा इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्ने उल्लेख छ । पहिलो चरणअन्तर्गतका ४२ दिनमा गाजा क्षेत्रमा रहेका इजरायली सेना मानिसको बसोबास भएका स्थानबाट फिर्ता हुने र प्यालेस्टिनीहरूलाई उत्तरी गाजास्थित आफ्नो घर फर्कने अनुमति दिइने र त्यहाँ मानवीय सहायता प्रदान गरिने जनाइएको छ ।
युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका विषयमा पहिलो चरणको १६ औं दिनदेखि थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।सम्झौतामा उल्लेख भएअनुसार दोस्रो चरणमा गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने र त्यसको सट्टा हमासले सैनिकलगायतका थप बन्दी रिहा गर्नेछ । त्यस्तै, तेस्रो चरणमा अन्तर्राष्ट्रिय पर्यवेक्षणमा गाजामा गरिने ३ देखि ५ वर्षे पुनर्निर्माण योजनाको बदलामा हमासले बाँकी बन्धक वा शव फिर्ता गर्ने जनाइएको छ ।