काठमाडौं । चालु आर्थिक वर्ष जेठ महिनासम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो । आयातमा उल्लेख्य सुधार हुन नसक्दा र निर्यात बढेपछि शोधनान्तर बचत बढेको हो ।
चालु आव ११ महिनामा आयात १३ प्रतिशतले मात्र बढेको छ भने निर्यात ७७.८ प्रतिशतले बढेको छ । त्यसैगरी रेमिट्यान्स आप्रवाह पनि १५.५ प्रतिशतले बढेको छ । त्यसले गर्दा पनि शोधनान्तर स्थितिमा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा गत आव सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव जेठसम्म ३ अर्ब ६२ करोडले बचतमा छ ।
चालु आवको समीक्षा अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता २ खर्बले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता चालु आव जेठसम्म अवधिमा २ अर्ब २६ करोडले बचतमा छ ।
चालु आव जेठसम्म खुद पूँजीगत ट्रान्स्फर ८ अर्ब ९६ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर ५ अर्ब ४६ करोड थियो । यसैगरी चालु आव जेठसम्म ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड थियो ।