काठमाडौं । काठमाडौंमा एक वर्षअघि भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका प्राविधिक कर्मचारीको ‘क्षतिपूर्ति भुक्तानी’ विभेद गरिएको भन्दै परिवारजनले आपत्ति जनाएका छन् । ‘फेरी उडान’ को ‘ड्युटी’ मा रहेकामध्ये दुई जनालाई विमाबापत सम्पूर्ण दाबीको पूर्ण र अन्तिम निप्टाराबापत ५० हजार अमेरिकी डलर ९७० लाख रुपैयाँ हाराहारी० र अन्यलाई यात्रुले पाउने २० हजार अमेरिकी डलर (करिब २८ लाख रुपैयाँ)मात्र दिइने भएपछि उनीहरू असन्तुष्ट बनेका हुन् ।
सौर्यको ‘अल्फा–माइक–इको’ रजिस्ट्रेसन नम्बरको सीआरजे विमान विस्तृत मर्मत (सी–चेक) का लागि पोखरा उड्ने (टेक अफ) क्रममा ९ साउन २०८१ मा दुर्घटनामा परेको थियो । को–पाइलट सुशान्त कटुवालसहित प्यासेन्जर बोर्डमा रहेका १८ जनाको ज्यान गएको थियो । उनीहरूमा अधिकांश सौर्यका प्राविधिक, इन्जिनियर थिए । क्याप्टेन मनीषरत्न शाक्यको भने उद्धार गरिएको थियो । मर्मतका लागि आवश्यक पर्ने जनशक्ति राखेर लैजाने ‘फेरी उडान’ अनुमति दिएर जहाज उडेको थियो ।
दुर्घटनामा ज्यान गुमाएका को–पाइलट कटुवाल र अपरेसन इन्जिनियर महतोको परिवारलाई ५० हजार अमेरिकी डलर उपलब्ध गराइएको छ । अन्यका हकमा टिकट खरिद गरेका यात्रुले पाउने २० हजार अमेरिकी डलर लिन सौर्यको बिमा तथा कानुनको काम गर्ने एजेन्ट कम्पनी ‘प्रधान एन्ड एसोसिएट्स’ मार्फत दबाब आएको परिवारजनको भनाइ छ । त्यसमा १० जना मृतकको परिवारले बिमा रकममा आपत्ति जनाएका छन् ।
नेपालको उड्डयन क्षेत्रमा तीन दशकदेखि प्राविधिकका रूपमा काम गरिसकेका दिलिप सौर्य एयरलाइन्समा क्वालिटी म्यानेजर ९इन्जिनियर० का रूपमा कार्यरत थिए । ८ वर्षदेखि सौर्यमा काम गर्दै आएका ५८ वर्षीय दिलिपको जिम्मेवारी जहाजको मर्मत सम्भारमा गुणस्तर ठीक भएरनभएको हेर्ने थियो ।
पोखरा जाने बेला उनलाई सौर्यले क्रु मेम्बरसरह ‘मेन्टिनेन्स पर्सोनल’ को भूमिकामा पठाएको थियो । तर दुर्घटनापछि ‘प्रधान एन्ड एसोसिएट्स’ ले दिलिपकी ५१ वर्षीया पत्नी प्रीतिलाल कायस्थलाई बिमा रकम अधिकतम २० हजार अमेरिकी डलर तोकिएकाले हकदाबी गर्न २८ पुस २०८१ मा बोलाएको थियो ।