काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह साढे १५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८१\८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
एक महिनामै रेमिट्यान्स एक खर्बभन्दा बढी भित्रिएको छ । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।
चालू आवको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।