Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोसेली छाला जुत्ता उद्योगलाई २ लाख रुपैयाँ जरिबाना


कोसेली छाला जुत्ता उद्योगलाई २ लाख रुपैयाँ जरिबाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको कोसेली छाला जुत्ता उद्योगलाई २ लाख रुपैयाँ जरिबाना तिराएको  छ । बुधबार विभागले नियमित अनुगमन अन्तर्गत ६ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा काठमाडौं महानगरपालिका–१६ मा रहेको उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिबाना तिराइएको हो । उक्त उद्योगले आफ्ना उत्पादनमा एमआरपी सहितको लेबल नलगाएको पाइएपछि जरिबाना सहित बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।

विभागबाट अनुगमनमा गएको टोलीले नागार्जुन नगरपालिका–३ स्थित नेपाल जुत्ता फ्याक्ट्रीलाई सामान्य निर्देशन दिएको छ । यस्तै अन्य दुई फार्मेसीको बिक्री वितरणमा रोक लगाएको छ । काठमाडौं–३१ स्थित सिउटिक्स फर्मा र क्युटिज फार्मेसी प्रालिले बिक्रीका लागि राखेका कस्मेटिकजन्य वस्तुहरूको नमुना संकलन र ती वस्तुको बिक्री रोक्का गरिएको छ । साथै, दुवै फार्मेसी पसललाई विभागले व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।

त्यसैगरी विभागले काठमाडौं–१७ स्थित पशुपति ट्रेडिङ कन्सर्न र काठमाडौं–२२ स्थित जनता केबुल इन्डस्ट्रिज प्रालिको रोक्का रहेको कारोबार फुकुवा गरेको छ ।

विभागले अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिँदै आएको छ ।