Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इरानको बन्दरगाहमा विस्फोटमा मृत्यु हुनेको संख्या २८ पुग्यो


इरानको बन्दरगाहमा विस्फोटमा मृत्यु हुनेको संख्या २८ पुग्यो

एजेन्सी । इरानको बन्दरगाहमा शनिबार बिहान भएको विस्फोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । दक्षिणी इरानको शाहिद रजाई बन्दरगाहमा भएको उक्त घटनामा आठ सय जना घाइते भएका छन् भने ६ जना अझै बेपत्ता छन् । विस्फोटले वरपरका भवनका झ्याल र छाना उडाएको र गाडीहरू नष्ट गरेको बीबीसीले जनाएको छ ।

स्थानीय बासिन्दाहरूले विस्फोटको असर ५० किलोमिटर टाढासम्म महसुस भएको बताएका छन् । बीबीसीले प्रमाणित गरेका भिडियोहरूमा आगो बढ्दै गएर ठूलो विस्फोट भएको देखिन्छ, जसपछि मानिसहरू डराएर भागिरहेका र कतिपय घाइते अवस्थामा धुवाँले ढाकिएको र सडकमा लडिरहेका छन् । बन्दरगाहको भन्सार कार्यालयले टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताइएको छ ।

आकाशबाट खिचिएको भिडियोमा कम्तीमा तीन ठाउँमा आगो लागेको देखिन्छ । एक निजी समुद्री सुरक्षा सल्लाहकार कम्पनीका अनुसार विस्फोट भएका कन्टेनरहरूमा ‘बलिस्टिक मिसाइल’का लागि लैजाँदै गरिएको ठोस इन्धन थियो ।

एम्ब्रे इन्टेलिजेन्सका अनुसार भने इरानी ‘बलिस्टिक मिसाइल’मा प्रयोग हुने ठोस इन्धनको कार्गो सही तरिकाले नसम्हाल्दा आगलागी भएको हो । इरानी झन्डावाला एक जहाजले उक्त बन्दरगाहमा सोडियम पर्क्लोरेट अर्थात् रकेट इन्धन मार्च २०२५ मा झारेको एम्ब्रेले जनाएको छ ।