काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाज १०३ रनमा अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
लुम्बिनीका लागि भीम सार्कीले ४० बलमा सर्वाधिक ३१ रन बनाए । काठमाडौंका ब्याट्सम्यानले ६२ डट बल खेलेका थिए । टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले खराब सुरुवात गर्दै एक रनमै पहिलो विकेट गुमाएको थियो । मिचेल लेभिटलाई खाता खोल्न नदिइकन रामोन सिमोन्ड्सले बोल्ड गरे ।
काठमाडौंले २३ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । काठमाडौंका अर्का ओपनर स्टेफन स्केनेजी १३ रन बनाएर पेभिलियन फर्किए । गेहार्ड इरास्मस पनि चलेनन् । सुमित महर्जनले पनि ४ रनमात्रै जोड्न सके ।
भीम सार्की र डाउन डाउथवाइटले केही बेर साझेदारी गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरेका थिए, तर १२.६ ओभरमा ६५ रन जोड्दा उनीहरुको साझेदारी तोडियो । डाउथवाइट २१ रन बनाएर आउट भए । रसिद खान र करण केसी चलेनन् ।
नवौं नम्बरमा आएका प्रतीक श्रेष्ठले १४ बलमा २० रन हान्दै टीमलाई १०० को स्कोर माथि पुर्याएका थिए । १९.२ ओभरमा काठमाडौं अलआउट भयो । लुम्बिनीका लागि साद बिन जाफरले सर्वाधिक ३ विकेट लिए । रामोन सिमोन्ड्स र अभिशेष गौतमले २-२ विकेट बाँडे । सूर्य तामाङले विकेटको खाता खोले । विवेक यादवले पनि एक विकेट आफ्नो नाममा लेखाए ।