एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सन् २०२९ सम्म विश्वव्यापी औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको बताएको छ । राष्ट्रसङ्घीय मौसम र जलवायु एजेन्सी विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ)ले प्रकाशित गरेको वार्षिक प्रतिवेदन अनुसार पूर्वऔद्योगिक समयको तुलनामा विश्वव्यापी औसत तापक्रम १ दशमलव ५ डिग्रीले बढ्ने सम्भावना ७० प्रतिशत रहेको छ ।
यसअघि सन् २०२३ र २०२४ मा पनि विश्वव्यापी तापक्रम पूर्वऔद्योगिक समयको तुलनामा १ दशमलव ५ डिग्रीले बढिसकेको छ । तर त्यसलाई छोटो समयको वृद्धि मानिएकोमा अबको पाँच वर्ष पनि त्यही रूपमा बढेर समग्र औसतमा १ दशमलव ५ डिग्रीको विन्दु पार गर्न लागेको हो ।
सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्वऔद्योगिक समयको तुलनामा २ डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो । त्यसयता १ दशमलव ५ डिग्रीलाई पार गर्न नहुने विन्दु मानिँदै आएको छ ।
कोइला, तेल र ग्यासले कार्बनडाइअक्साइड उत्सर्जन गर्दछ । हरितगृह ग्यास मुख्यतया जलवायु परिवर्तनका लागि जिम्मेवार छ । डब्ल्यूएमओका उपमहासचिव को ब्यारेटले पछिल्लो रिपोर्टले आउँदा वर्षहरूमा हाम्रो अर्थव्यवस्था, दैनिक जीवन, पारिस्थितिक प्रणाली र पृथ्वीमा बढ्दो नकारात्मक प्रभाव पर्ने बताए ।