काठमाडौँ । गत मंसिरमा पनि विदेशी मुद्रा सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ । गत असारको तुलनामा करिब साढे ११ प्रतिशतले बढेको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।
पछिल्ला हरेक महिना विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड बनाउँदै आएको हो । गत असारमा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९।७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०८१—०८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसाग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षमा कम्तीमा ६ महिनालाई आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको थियो । यस्तै, २०८१ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत छन् ।